भौतिक मन्त्री दाहालद्वारा ग्वार्को फ्लाई ओभर निरीक्षण



कार्तिक २६, २०८१ सोमबार

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गर्नु भएको छ। मन्त्रालयका उच्च अधिकारीहरु सहित मन्त्री दाहाल सोमबार बिहानै निर्माण स्थलमा पुग्नु भएको हो।

निरीक्षण पश्चात मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिनु भयो । त्यस क्रममा उहाँले पूर्वाधार तथा विकास आयोजनाहरु निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताउनुभयो । काठमाडौंको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमानै सक्न उहाँको निर्देशन थियो। निरीक्षण टोलीमा मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु सहभागी रहनु भएको थियो ।

२०७८ सालको फागुन १२ गते देखि ठेक्का लागि निर्माण शुरु भएको उक्त फ्लाई ओभर थप भएको म्याद थप पछि २०८१ को पुष ८ गते सम्पन्न गर्नुपर्ने छ। ३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौले गरि रहेको छ।

प्रतिक्रिया दिनुहोस