भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि



काठमाडौँ, कात्तिक ८ गते। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको एक सय दिनमा ५५ वटा उपलब्धि हासिल भएको विवरण सार्वजनिक गर्नुभएको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रका किटान गरिएको लक्ष्यमध्ये आठ वटा लक्ष्य पूरा भएको र एउटा पूरा हुने चरणको अन्तिम अवस्थामा रहेको बताउनुभयो।

“पुनःनिर्माणको जिम्मेवारीबाट सरकार पछि हट्दैन वर्षात् र बाढीको प्रकोपका कारण सिर्जित आपत्कालीन सडक तथा यातायात व्यवस्थापनको काममा लाग्नु परेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको छ”, मन्त्री दाहालले भन्नुभयो, “वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि थप रु १५ अर्ब १६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।ती संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायसँग छलफल भइरहेको छ ।” तर दातृ निकायको मात्र भर नपरी मन्त्रालयले आफ्नै स्रोतबाट भए पनि पुनःनिर्माणलाई अघि बढाउने उहाँको भनाइ छ।

नीतिगत र कानुनी काम प्राथमिकतामा मन्त्रालयले यस एक सय दिनको अवधिमा सरकारले नीतिगत र कानुनी कार्यलाई प्राथमिकतामा राखेको मन्त्री दाहालले बताउनुभयो।नीतिगत, सुशासन र कानुनी सुधारतर्फ एक सय दिनको अवधिमा सात उपलब्धि प्राप्त भएका छन्। 

राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने, डिप्लोमा इञ्जिनियरिङ परिषद् गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थमन्त्रालयमा पठाउनेलगायत काम यस अवधिमा भएका छन्। 

यस्तै मन्त्रालयले गठन गरेको कार्यदलले तीन नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नुपर्नेगरी पहिचानसमेत गरेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

वर्तमान सरकार गठनको १०० दिनभित्र मन्त्रालय र अन्तर्गत निकायहरुबाट सम्पादन भएका मुख्य-मुख्य कार्यहरु सम्बन्धमा जारी गरिएको

प्रेस विज्ञप्ति

कार्तिक ८, २०८१

राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीब्रता र आर्थिक समृद्धिका जनचाहनाको सम्बोधन गर्ने संकल्पका साथ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ‌ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको यही असोज ६ गते १०० दिन पूरा भएको छ। वर्तमान सरकार गठन पश्चात् १०० दिन, २०० दिन र एक वर्षको लक्ष्य किटान गरी तयार गरिएको कार्ययोजना अनुसार सरकारले काम गरिरहेको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूले सरकारको तर्फबाट १०० दिनको उपलब्धिवारे जानकारी सार्वजनिक गरिसक्नु भएको छ।

यस क्रममा सम्मानीय प्रधानमन्त्रीज्यूले सवै मन्त्रीहरु सँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबीच १० वटा मुख्य कार्यक्रम र तिनको लक्ष्यसहित कार्यसम्पादन सम्झौता गरिएको थियो। यातायात पूर्वाधारको विकास र यातायात प्रणालीको नीतिगत व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको यस मन्त्रालयले आफू र मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानीजहाज कार्यालय मार्फत सम्पादन भएका मुख्य कार्यहरु र हासिल भएका उपलब्धिहरुका साथै यस मन्त्रालयको कार्यक्षेत्रमा पर्ने र यस अवधिमा सम्पादन गरिएका अन्य कार्य र तिनबाट हासिल भएका उपलब्धिहरु १०० दिने कार्यप्रगति तथा उपलब्धिहरु यो प्रेस विज्ञप्तिमार्फत सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरिएको छ।

एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरु मध्ये ८ वटा लक्ष पूरा गरिएका छन् भने एउटा लक्ष करिब पूरा भएको अवस्था छ। बाँकी एउटा लक्षको भने आधा मात्र प्रगति हासिल भएको अवस्था छ।  यसबीचमा बर्षात् र बाढीको प्रकोपद्वारा सिर्जित आपतकालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नु नपरेको भए हामीले सम्पूर्ण  लक्ष पूरा गर्ने देखिएको छ। जनअपेक्षाको दाँजोमा प्रगतिको यो अवस्था कमै भए पनि किटान गरिएको लक्षका दृष्टिले यसलाई कम भन्न पनि मिल्दैन भन्ने ठानेको छु। यो उपलब्धि मन्त्रालय, विभाग र फिल्डमा मेहनतपूर्वक खट्ने सबै तहका कर्मचारी साथहीहरुका साथै सवै सरोकारवालाहरु र मिडियासमेतको सहयोगमा सम्भव भएको उल्लेख गर्न चाहन्छु।

यस अवधिमा मन्त्रालयले विगतदेखि विरासतको रुपमा रहेको कतिपय आयोजना व्यवस्थापनका समस्या र श्रोत साधनको सीमितताका बावजूद जनचासो र अपेक्षाहरुलाई सम्बोधन गर्न आवश्यक सवै प्रयत्न गरिएको जानकारी गराउन चाहन्छु। आगामी दिनमा आयोजना व्यवस्थापनका समस्या समाधान गरी जनअपेक्षा पूरा गर्न यस कार्यमा अझै प्रभावकारी ढङ्ग लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु।

देवेन्द्र दाहाल

मन्त्री

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
वर्तमान सरकार गठनको १०० दिनमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गत निकायहरुबाट सम्पादन भएका मुख्य कार्यहरु

  • पहिलो सय दिन (२०८१ कार्तिक ६ गतेसम्म) मा हासिल गर्ने गरी राखिएका मुख्य लक्ष्यहरु

सडक यातायात तर्फ

  1. वर्षा अवधिभरि राष्ट्रिय राजमार्गहरूमा अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढीमा २ घण्टाभित्र अवरोध हटाई सवारी सुचारु गर्ने व्यवस्था मिलाउने।
  2. देशका निर्माणाधीन बाहेकका प्रमुख राजमार्गहरू अन्तर्गत ४०३८ कि.मि. लम्बाइमा प्रथम चरणको पटके मर्मत कार्य सम्पन्न गरी खाल्डाखुल्डी रहित बनाउने।
  3. राष्ट्रिय राजमार्ग (हुलाकी राजमार्ग, मदन भण्डारी, तमोर कोरिडोर लगायत) मा थप २५ कि.मि. (२ लेन) र ५ कि.मि. (४ लेन) गरी कुल ३० कि.मि. कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने।
  4. सिद्धबाबा सुरुङ्गमार्ग अन्तर्गत थप २४० मिटर मुख्य सुरुङ्ग खन्ने कार्य सम्पन्न गर्ने।
  5. नागढुङ्‌गा सुरुङ्गको निर्माण कार्य अन्तर्गत मुख्य सुरुङ्ग मार्गको लाइनिङ्ग गर्ने कार्य सम्पन्न गर्ने।

रेल यातायात तर्फ

  • बर्दिबास चोचा रेलमार्ग खण्डमा ३ वटा रेल पुल निर्माण गर्ने।

यातायात व्यवस्था तर्फ

  • सवारी चालक अनुमति पत्रको राजस्व भौचर, QR Code र फोटो सहित Paper Card मा उपलब्ध गराउन सहजीकरण गर्ने।
  • चालक अनुमतिपत्र (Driving Licence) लाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी प्रयोगमा ल्याउने व्यवस्था मिलाउने।

जल यातायात तर्फ

  • पानीजहाज सञ्चालन सम्बन्धी विधेयक सङ्घीय संसदमा पेस गर्ने।
  • विभिन्न मुलुकहरूमा पानीजहाजमा काम गर्दै गरेका नेपालीहरूको तथ्याङ्क सङ्कलनका लागि एक वेब एप्लिकेशनको लागि सम्झौता गर्ने।
  • पहिलो सय दिन (२०८१ कार्तिक ६ गतेसम्म) को मुख्य उपलब्धिहरू

सडक यातायात तर्फ

  1. वर्षा अवधिभरि अवरोध भएका राजमार्गहरूमा लक्ष्य अनुरूप नै अवरोध हटाई सवारी सुचारु भएको।
  2. लक्ष्य अनुसार ४०३८ कि.मि. सडकलाई खाल्डा खुल्डी रहित बनाइएको तर असोज १० देखि १२ गतेको बाढी पहिरोबाट बिग्रे भत्केका सडकको पुन:मर्मत कार्य गर्नुपर्ने परिस्थिति सिर्जना भई त्यसै अनुसार मर्मत कार्य भइरहेको।
  3. राष्ट्रिय राजमार्ग अन्तर्गत थप २७ कि. मि. (२ लेन) र ५.५ कि. मि. (४ लेन) गरी कुल ३२.५ कि. मि. (लक्ष्य : ३० कि.मि.) सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको।
  4. सिद्धबाबा सुरुङ्गमार्ग अन्तर्गत थप ३९७ मिटर (लक्ष्य : २४० मिटर) मुख्य सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको। हालसम्म मुख्य सुरुङ्गको ६४७ मिटर, बाईपास-१ को १४४ मिटर,  बाईपास-२ को १४४ मिटर र बाईपास-३ को १२८ मिटर खन्ने कार्य सम्पन्न भएको।
  5. नागढुङ्‌गा सुरुङ्ग मार्ग अन्तर्गत मुख्य सुरुङ्गको लाइनिङ्ग गर्ने कार्य लक्ष्य अनुसार सम्पन्न भएको। 

रेल यातायात तर्फ

  • बर्दिबास चोचा रेलमार्ग खण्डमा लक्ष्य अनुसार ३ वटा रेल पुल निर्माण सम्पन्न भई हालसम्म कुल १६ वटा रेल पुल निर्माण सम्पन्न भएको।

यातायात व्यवस्था तर्फ

  • प्रदेश स्तरबाट QR Code सहितको सवारी चालक अनुमतिपत्र छपाइमा सहजीकरण हुनेगरी सवारी तथा यातायात व्यवस्था नियमावली, 2054 संशोधनका लागि यातायात व्यवस्था विभागबाट राय सहित कारबाही शुरू भएको। प्रदेश तहबाटै सवारी चालक अनुमतिपत्र छपाइ गर्ने विषयमा मिति 2081/04/32 मा सातै प्रदेशका यातायात मन्त्रीज्यूहरूको सहभागितामा बसेको विषयगत समितिको बैठकबाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको।
  • यातायात व्यवस्था विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धमा मिति 2081/04/30 मा MOU सम्पन्न भई कार्यान्वयन शुरू भएको।

जल यातायात तर्फ

  • पानीजहाज सञ्चालन सम्बन्धी विधेयकको छपाई कार्य सम्पन्न भई संघीय संसदमा पेश गर्न तयारी अवस्थामा रहेको।
  • विभिन्न मुलुकहरूमा पानीजहाजमा काम गर्दै गरेका नेपालीहरूको तथ्याङ्क सङ्कलनका लागि वेब एप्लिकेशन तयार गर्न परामर्शदाता छनौटको चरणमा रहेको।
  • चालु आर्थिक वर्षमा माथि उल्लेख भएका विषयहरू अतिरिक्त सम्पादन गरिएका प्रमुख कार्यहरू

नीतिगत/ सुशासन/ कानूनी सुधारतर्फ

  1. राष्ट्रिय यातायात नीति स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गरिएको।
  2. राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिको लागि मिति २०८१/०६/१६ मा अर्थ मन्त्रालयमा पठाइएको।
  3. डिप्लोमा इन्जिनियरिङ्ग परिषद् गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिको लागि मिति २०८१/०५/१४ मा अर्थ मन्त्रालयमा पठाइएको।
  4. शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण नियमावलीको मस्यौदा तयार भएको।
  5. सडक दुर्घटना न्यूनीकरण गर्नका लागि United Nations Declaration on Road Safety Action Plan, 2021 – 2030 सँग तादम्यता हुनेगरी Nepal Road Safety Action Plan को मस्यौदा तयार गरिएको।
  6. नेपालमा अध्ययन गरेका इन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता (एक्रेडिटेशन) दिलाउनका लागि आवश्यक प्रकृया अगाडि बढाउन नेपाल इन्जिनियरिङ्ग काउन्सिललाई सहजीकरण गरिएको।
  7. मन्त्रालयसँग सम्बन्धित विद्यमान नीति, ऐन, नियमावली, मापदण्ड, कार्यविधि र गुरुयोजनालाई समयानुकुल परिमार्जन गर्ने तथा आवश्यक नयाँ कानूनहरूको निर्माण गर्ने प्रकृयामा रहेका कानूनहरूको अवस्था अध्ययन गर्न कार्यदल गठन गरिएको। उक्त कार्यदलले विभिन्न चरणमा रहेका ३ वटा नीति,  १० वटा ऐन, १० वटा नियमावली, १३ वटा मापदण्ड, ४ वटा निर्देशिका, ५ वटा गुरूयोजना तथा ५ वटा कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नुपर्ने गरी पहिचान गरेको। यी विषयहरूलाई प्राथमिकता तय गरी कार्यान्वयन गर्ने कार्ययोजनाको खाका तयार गरिएको।
  8. मन्त्रालय तथा सडक विभाग अन्तर्गत रहेका रुग्ण ठेक्काहरुको ठेक्कागत (Contract wise) अध्ययन गरी समाधानको सिफारिस गर्न मन्त्रालयबाट आन्तरिक समिति गठन गरिएकोमा प्रतिवेदन प्राप्त भएको,  साथै यो समस्याको विषयमा निर्माण व्यवसायी महासंघको तर्फबाट पनि अध्ययन गरी सुझाव प्रतिवेदन दिन अनुरोध गरिएकोमा महासंघबाट पनि प्रतिवेदन प्राप्त भएको।

सडक पूर्वाधार निर्माणतर्फ

  • काठमाण्डौ तराई मधेश फास्ट ट्रयाकको मकवानपुरमा पर्ने धेद्रे सुरुङ्ग ब्रेक थ्रू भएको।
  • पूर्व – पश्चिम राजमार्ग अन्तर्गत कमला – बाग्मती खण्ड र वुटवल – गोरूसिंहे खण्ड स्तरोन्नती गर्नका लागि ठेक्का सम्झौता सम्पन्न भई निर्माण कार्य शुरू भएको।
  • मदन भण्डारी राजमार्ग अन्तर्गत माडीचौर-घर्तीगाउँ-पातिहाल्ने-बागचौर खण्ड (५३ कि.मि.) र बड्डीचौर-गुटु कर्णाली (२५ कि.मि.) खण्ड निर्माणका लागि ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भएको।
  • चिनियाँ अनुदान सहयोगमा देहायका आयोजनाहरुको कार्य अघि बढाउन नेपाल सरकार र China International Development Cooperation Agency बीच Letter of Exchange आदान प्रदान भएको।
    • काठमाडौँ चक्रपथको कलंकीदेखि महाराजगंजसम्मको सडक खण्डको ८.२ कि.मि. स्तरोन्नती गर्न Letter of Exchange 22 August 2024 आदान प्रदान भएको। Maintenance and slope stabilization of Araniko Highway (Phase IV) को Feasibility Study को लागि Letter of Exchange 22 August 2024 मा आदान प्रदान भएको।
  • जापान सरकारको अनुदान सहयोगमा Kathmandu Valley Urban Transport System Master Plan तयारीको लागि ३ वटा Working group समेत गठन भई काठमाडौँ उपत्यकाको यातायात संरचनामा सुधार गर्न आवश्यक Planning को लागि अध्ययन कार्य भइरहेको।
  • जापान सरकारको अनुदान सहयोगमा Project for Capacity Building for Countermeasures against Disasters on Major Highways कार्यको अध्ययन शुरु भएको।
  • सडक पूर्वाधारको मर्मत सम्भारलाई योजनाबद्ध तवरले अगाडि बढाइएको। पटके मर्मत कार्यलाई प्रभावकरी बनाउन ठेक्का-पट्टाको अतिरिक्त छिटो छरितोको लागि अमानती प्रकृया समेत अबलम्बन गरी मर्मत कार्य गरिएको। आवधिक र पुनर्स्थापना कार्यको लागि तय गरिएको Integrated Annual Road Maintenance Plan (IARMP)  लाई कार्यान्वयन गर्ने गरी आवश्यक तयारी, ठेक्का व्यवस्थापन, अनुगमन लगायत कार्यहरू भैरहेको।
  • सूर्यविनायक-धुलिखेल, नागढुङ्गा-नौबिसे, नौबिसे-मुग्लिङ्ग, आँबुखैरेनी-पोखरा, काकरभिट्टा-ईटहरी, कन्चनपुर-कमला, बुटवल-नारायणगढ, गल्छी-रसुवागढी, कालीगण्डकी कोरिडोर लगायतका कतिपय खण्डहरू निर्माणाधीन अवस्थामा रहेकाले उक्त खण्डहरूमा स्वाभाविक रुपमा यातायात आवागमनमा केही असुविधा हुन पुगेको। तथापि तोकिएको समयमा कार्य गराउने गरी संयन्त्रहरूलाई परिचालन गरिएको। निर्माणाधीन सडक अन्तर्गतका केही ठेक्काहरू कार्यान्वयन चरणमा देखिएका समस्याहरूलाई नजिकबाट हेर्ने, विश्लेषण गर्ने र आवश्यकता अनुसार सम्झौताका सर्तहरू बमोजिम कारबाही गर्ने गरी तयारी भइरहेको।
  • सालबसाली प्रकृतिका योजनामा प्रारम्भिक चरणमा सम्पादन गर्नुपर्ने कार्यहरू जस्तै डिजाइन, सर्भे, लागत अनुमान, बोलपत्र कागजात तयारी लगायतका कार्य भई खरिद कार्यको प्रारम्भिक चरणमा रहेकाले आगामी दिनहरूमा लक्ष्य बमोजिम प्रगति देखिने।

यातायात व्यवस्थातर्फ

  1. यस अवधिमा थप ३४ हजार ७ सय ४ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) छपाई भई कुल ३७ लाख २६ हजार ३ सय ५९ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) छपाई भई वितरण भएको।
  2. ट्याक्सीको रुपमा प्रयोग हुने सवारीको राष्ट्रिय मापदण्डको प्रारम्भिक मस्यौदा तयार भएको।
  3. इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भएको।
  4. सवारी चालक अनुमतिपत्र नागरिक एपबाट देखाउन मिल्ने र ट्राफिक भ्वाइलेशन रेकर्ड सिस्टम (TVRS) मार्फत इ-चलान (डिजिटल चिट) काट्न मिल्ने गरी विभागको प्रणालीलाई ट्राफिक प्रहरीबाट सञ्चालित TVRS प्रणालीसँग आवद्ध गरिएको।
  5. मिति 2081/06/08 मा चाडपर्व केन्द्रित यातायात व्यवस्थापनमा सहजता एवं यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउने सम्बन्धमा 20 बुँदे निर्णय गरी कार्यान्वयन गरिएको।
  6. अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण बाटोमा अलपत्र परेका यात्रुहरुको उद्धार कार्यलाई प्रभावकारी तुल्याउन वैकल्पिक मार्ग प्रयोग गर्ने गरी रुट पर्मिट खुला गरिएको।
  7. २०८१ आश्विन १०, ११ र १२ गतेको वर्षाले उत्पन्न गरेको विपद्को कारणबाट क्षतिग्रस्त सडकहरूमा यातायात संचालनका लागि भएका प्रयास तथा उपलब्धिहरू
  8. पृथ्वी राजमार्ग (नागढुंगा-मुग्लिंग खण्ड) को विभिन्न स्थानमा पहिरो गई सडक अवरोध भएकोमा असोज १४ गते देखि दुई तर्फी नै यातायात संचालन गरिएको।
  9. दोलखाको किर्नेटार (खिम्ती जलविद्युत आयोजनाको पावरहाउस भएको स्थान) को करिब ८०० मिटर सडक बगाई यातायात अवरोध भएकोमा जलविद्युत आयोजनाको परिसरबाट बैकल्पिक सडक निर्माण गरी बर्दिबासबाट काठमाण्डौ आउने सवारी साधनलाई असोज १६ गतेबाट संचालनमा ल्याईएको।
  10. कान्ति राजपथको टिकाभैरवदेखि बागमती पुलसम्मको विभिन्न स्थानमा पहिरो तथा बागमती पुलको एक स्पान सहित ३०० मिटर एप्रोच सडक बगाई यातायात अवरोध भएकोमा बागमती पुलमा अस्थायी संरचना निर्माण गरी असोज २२ गते देखि यातायात संचालन गरिएको।
  11. बि.पी. राजमार्गको चौकीडांडा देखि नेपालथोक खण्डको विभिन्न स्थानमा पहिरो गई १२ कि.मी. सडक Washout भएकोमा विभिन्न स्थानहरूमा अस्थायी डाईभर्सन निर्माण गरी असोज २५ गते देखि एकतर्फी यातायात संचालन गरिएको।
  12. मेची राजमार्गको माईखोला ईलाम खण्ड लगायत विभिन्न स्थानमा पहिरो तथा हेवा खोलाको बेलिब्रिज बगाई यातायात अवरोध भएकोमा हेवा खोला तथा सिमलखोला-तिल्केनी खण्डको माई खोलामा अस्थायी डाईभर्सन निर्माण गरी असोज २५ गते देखि यातायात संचालन गरिएको।
  13. अरनिको राजमार्गको विभिन्न स्थानमा पहिरो तथा लिपिंगको पक्कि पुल र लार्चा बेलिब्रिज Washout भई यातायात अवरोध भएकोमा लार्चा खोलामा अस्थायी डाईभर्सन निर्माण गरी असोज १९ गते देखि यातायात संचालन गरिएको। कोदारी बजार सम्म असोज २१ गते देखि यातायात सुचारु गरिएको। लिपिंग खोलाको पुलमा बेलिब्रिज जडानको लागि दमौलीबाट बेलिब्रिज ढुवानी गरी तातोपानीमा पुगिसकेको साथै जडानको लागि नेपाली सेनाबाट कार्य शुरू भएको।
  14. सुनकोशी नदी पुल, खुर्कोटको एक स्पान बगाएकोमा हेटौडा एवं लहानबाट बेलिब्रिज ढुवानी गरी नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडान गर्ने कार्य सम्पन्न भई कार्तिक ६ गते बाट यातायात सुचारु भएको।
  15. पुष्पलाल (मध्यपहाडी) राजमार्गको खुर्कोट घुर्मी तथा दोलालघाट – सित्खा खण्डको विभिन्न स्थानमा पहिरो गई सडक अवरोध भएकोमा असोज १९ गतेबाट सित्खा – सिन्दुरेटार – मेच्छे – भकुन्डे खण्ड (स्थानीय सडक समेत सुधार गरी) प्रयोग गरी पूर्वबाट काठमाण्डौ उपत्यका प्रवेश गर्ने सवारी साधनको आवागमनलाई संचालनमा ल्याईएको।
  16. भारत सरकारको सहयोगमा हालसम्म ४८.५ मिटर र ७० मिटरका ३८ ट्रक बेलिब्रिजका सामग्रीहरू सडक विभागले प्राप्त गरी हेटौँडा स्थित सडक डिभिजनको कम्पाउन्डमा राखिएको तथा थप बेलिब्रिजका सामानहरू आउने क्रम जारी रहेको।
  17. गणेशमानसिंह मार्ग (थानकोट-चित्लाङ्ग सडक) को विभिन्न स्थानमा पहिरो गई सडक अवरोध भएकोमा असोज १४ गतेबाट नै यातायात संचालनमा ल्याईएको ।
  18. काठमाण्डौ-सिस्नेरी-छैमले-हेटौँडा सडकको विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्यको लागि बाग्मती प्रदेश सरकार मातहतका कार्यालयलाई मेसिन तथा अन्य आवश्यक उपकरणहरू उपलब्ध गराई सहजीकरण गरिएको।
  19. भत्किएका पुलहरू तथा सडकहरूको तत्काल पुनर्स्थापनाको लागि आवश्यक प्रक्रिया शुरू गरिएको,  यस क्रममा वैकल्पिक मार्ग नभएका सडक/पुल निर्माणलाई प्राथमिकता दिइएको।
  20. वर्षाको कारणबाट क्षतिग्रस्त सडकहरूमा मन्त्रालय अन्तर्गत कै बजेटबाट आकस्मिक मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको। वर्षाको कारणबाट क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणका लागि थप १५ अर्ब १६ करोड रूपैँया लाग्ने प्रारम्भिक अनुमान रहेको छ।

विगत देखि नै पूर्वाधार निर्माण क्षेत्रमा निर्माण सामाग्रीको अभाव, अन्तरनिकायगत समन्वयको कमी, बजेटको न्यूनता, सम्झौताको परिपालनामा कमी जस्ता समस्याको कारण समयमै निर्माण सम्पन्न हुन नसकी पटक पटक खरिद सम्झौताको अवधि थप सम्बन्धी कानूनको प्रावधान संशोधन हुनुपर्ने अवस्था सिर्जना भएको। यस्ता समस्यालाई समाधान गर्न सम्झौता कार्यान्वयनमा देखिएका कमी कमजोरीमा जिम्मेवार पक्षलाई जवाफदेही बनाउदै, आवश्यकता अनुसार कानूनी जटिलता फुकाउदै/परिमार्जन गर्दै एवं सरोकारवाला पक्ष तथा अन्य निकायसँग निरन्तर छलफल गरी नतिजा प्राप्त गर्न मन्त्रालय प्रतिबद्द रहेको।

धन्यवाद

मिति २०८१/०७/०८

प्रतिक्रिया दिनुहोस