नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल



काठमाडौँ, भदौ ३१ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक कलेजले विकास गरेको पेट्रोल र हाइड्रोजनबाट चल्ने गाडीको शुभारम्भ कार्यक्रममा सोमबार उहाँले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री दाहालले प्रविधिको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि मन्त्रालय अग्रसर रहेकोसमेत बताउनुभयो । “औद्योगिक मुलुकका कारण विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनको मारमा नेपाल जस्ता मुलुकहरू परिरहेका छन् । यसले पर्दा हिमालदेखि समुद्रसम्म प्रदूषणको मारमा परिरहेको छ”, उहाँले भन्नुभयो,“यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनुपर्छ । त्यसका लागि वातावरणमैत्री र नवीकरणीय इन्धनको प्रवर्द्धनमा जोड दिन आवश्यक छ ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालले प्राकृतिक रूपबाट नै हाइड्रोजन प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

पेट्रोल र हाइड्रोजनको प्रयोगबाट चल्ने ‘इन्जिन’ निर्माणको नेतृत्व गर्नुभएका डा. प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इन्जिनलाई हाइड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउन पहिलो पटक नमुनाका रूपमा इन्जिन बनाइएको बताउनुभयो । यस प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौँ सवारी साधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, सहायक डिन चिन्तामणि पोखरेललगायतले नेपाली प्राविधिक र प्रविधिलाई प्रोत्साहनको खाँचो रहेको बताउनुभएको थियो ।

सोही कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इन्जिन रूपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापासमेत सवार हुनुभएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हाइड्रोजन विज्ञलगायतको सहभागिता रहेको थियो । रासस

(गोरखापत्र अनलाईन)

प्रतिक्रिया दिनुहोस