सहिद राम प्रधानको जन्म वि.सं. १९९७ साल पुस १४ गते भारतको सिक्किम राज्य अन्तर्गत साङ मंगलबारे बजारमा एउटा सामान्य निम्न मध्यम परिवारमा भएको थियो । उहाँको न्वारानको नाम धनबहादुर र नागरिकताको नाम रामप्रसाद प्रधान हो । उहाँका बुबाको नाम लछुमन प्रधान र आमाको नाम धनमाया प्रधान थियो । सहिद रामप्रसाद प्रधानको विवाह वि.सं. २०१५ सालमा सिक्किम निवासी लघुनारायण श्रेष्ठ तथा नर्वदा श्रेष्ठकी सुपुत्री इन्द्रमायासँग सम्पन्न भएको थियो । इन्द्रमायाको जन्म वि.सं. १९९८ साल श्रावण २७ गते सिक्किमको सुमेक गाउँमा भएको थियो ।
सहिद राम प्रधानका दाजुभाईहरु आफू समेत ५ जना र उहाँ जन्म क्रममा जेठो छोरो भएको कुरा जानकारीमा आएको छ । उहाँका दिदीबहिनीहरु ४ जना, छोरा २ जना र छोरी २ जना हुनुहुन्छ । उहाँका जेठा छोराको नाम मोहनकुमार र कान्छा छोराको नाम डम्बरकुमार हो । उहाँका २ जना छोराबुहारी छविमाया र होमकुमारी, २ जना छोरीहरु रत्नकुमारी र कमला तथा छोरीज्वाईहरु कृष्णबहादुर श्रेष्ठ र पदमबहादुर तामाङ हुनुहुन्छ ।अहिले सहिद राम प्रधानको परिवार झापाको बुधबारे गा.वि.स. वार्ड नं. १ दामाटारमा कृषि पेसामा संघर्षरत जीवन यापन गरिरहेको छ ।
सहिद राम प्रधानको वाल्यकाल र किशोरकाल भारतको सिक्किम राज्यको साङ मङ्लबारेमा वित्यो । उहाँले सिक्किममै कक्षा १० सम्मको औपचारिक शिक्षा प्राप्त गर्नु भयो । सिक्किममा रहँदा उहाँले सडक तथा नहर विभागमा मुन्सी पदमा रहेर काम गर्नु भयो । मुन्सी पदमा रहेर काम गर्दा उहाँको विशेष संगत इन्जिनियरहरुसँग रहेको कुरा उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको परिवार वि.सं. २०२१ सालसम्म सिक्किममै रहेको थियो ।
सहिद राम प्रधानको परिवारको सिक्किममा रहदाको आर्थिक अवस्था सवल थिएन । सामान्य जीवन निर्वाहको लागि कठोर परिश्रम गर्नु परेको थियो । सिक्किममा नेपाली जातिको संख्या प्रशस्तै भएतापनि सिक्किमबासी नेपालीहरुले आफ्नो पुर्खाको भूमि नेपाललाई विर्सेका थिएनन् । सहिद राम प्रधानका छिमेकीहरुको सिक्किम र नेपाल दुबैतिर बसोवास भएको हुनाले उनीहरुबाट यस परिवारले पनि नेपालतिरको हालखबर बराबर सुनिरहन्थे । आफ्ना छिमेकी रामचन्द्र सापकोटाले नेपालको झापा बुधबारे भन्ने ठाँउ अत्यन्त उर्बर र बस्न लायकको छ भनेको हुनाले सहिद राम प्रधानको परिवार पनि आफ्ना छिमेकीका सहारामा झापा बुधबारे आउन लालयित भयो । यसैले वि.सं. २०२१ सालमा यस परिवारले झापा बुधबारे १ दामाटारमा रु ४ हजारमा ४ विघा जग्गा किनेर सिक्किम छाडी नेपाल प्रवेश गरेको थियो ।
बुधबारेको जग्गा अत्यन्त उर्बर र बसोवासको लागि अत्यन्त अनुकूल छ भन्ने कुरा सिक्किमका नेपालीले र यस परिवारले पनि सुनेको थियो । तर संयोगवस जतिखेर यो परिवार दामाटारमा आयो त्यतिखेर यस ठाउँमा कोदो मात्र फल्थ्यो भन्ने भनाइ छ । जेहोस् यो परिवार आफ्नो पुर्खाको भूमिमा आएको थियो र परिश्रम गर्ने बानी परेकाले आफ्नो संघर्षशील जीवनलाई यहाँपनि जारी राख्यो । यसरी करिब २५ वर्षको ससक्त र लक्का जवान राम प्रधान २०२१ सालदेखि बुधबारेको समाजमा घुलमिल भई आफ्नो सक्रिय पारिवारिक तथा सामाजिक जीवनमा सरिक हुनु भयो ।
२०२१ सालमा बुधबारेको दामाटारमा स्थायी रुपमा बसोवास गर्न थाले देखि राम प्रधान पारिवारिक र सामाजिक दुबै क्रियाकलापमा सारिक हुनुभयो । उहाँले लक्ष्मी विरिङ पैनी, दामा पैनीको निर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गर्नु भयो । उहाँले केही समय लक्ष्मी विरिङ पैनीको सुरक्षा र सेवाका निमित्त चौकीदारी पनि गर्नुभएको थियो । वि.सं. २०२६ सालदेखि उहाँको पारिवारिक तथा सामाजिक जीवनलाई हल्का राजनीतिक चेतनाले पनि स्पर्श गर्न थालेृको थियो । २०२६ सालसम्ममा तत्कालीन पञ्चायती व्यवस्था आफनो उन्नतिको लागि करिब करिब चरम शिखरमा पुगेको थियो । राजनीतिक दलमाथि प्रतिबन्ध लागेको थियो । अधिकांश ठूला नेता कोही जेलमा र कोही विदेश पलायन भएको हुनाले नेपालको कम्युनिस्ट आन्दोलनको केन्द्र नेपाल कम्युनिस्ट पार्टी विभिन्न गुटअपगुटमा विभाजित भई छिन्न भिन्न भएको थियो । देशमा पञ्चायत इत्तर राजनैतिक गतिविधि करिब करिब ठप्प थियो । कम्युनिस्ट पार्टीका गुटउपगुट एक अर्कालाई गाली गर्न, सिध्याउन, फुट्ने र जुट्ने काममा भूमिगत रुपमा सक्रिय थिए । त्यसको छनक कलेजका विद्यार्थीहरुका गतिविधिमा देख्न पाइन्थ्यो । पार्टीका थुप्रै र ठूलै ओहदाका नेताहरु कार्यकर्ताहरुलाई राजा महेन्द्र पञ्चायती सरकारको कुटनीतिले प्रभाव पार्दै थियो र उनीहरु ठूला ठूला सरकारी कर्मचारीका कुर्सीमा र उच्च राजनीतिक पदमा विराजमान भइरहेका थिए । यस्तो अवस्यामा पनि झापामा चारु मजुमदारद्वारा संचालित नक्सलवादी वामपन्थी आन्दोलनको प्रभाव देखिन थालेको थियो । झापाको किसान आन्दोलनले पञ्चायती सरकारलाई सशंकित र सर्वसाधारणलाई त्रसित पनि पारिरहेको थियो । राजनीतिक चेतनाको अभावमा सर्र्वसाधरण जनता पञ्चायती व्यवस्थाको विरुद्ध चुइक्क बोल्न सक्तैनथे ।
२०२७ सालमा बुधबारेका खडानन्द वाग्ले वीरगंजको कलेजमा शिक्षण तालिम लिइरहनु भएको थियो । त्यस कलेजको विद्यार्थी राजनीतिमा नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल समूहको प्रभाव थियो । खडानन्द वाग्लेले कलेजको विदामा बुधबारे घर आउँदा केही राजनीतिक पुस्तकहरु ल्याउनु भएको थियो । ती पुस्तक मध्ये दर्शनबारे पाँच कृति, नौलो जनबाद बारे, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, माओका संकलित रचनाहरु भाग १,२,३ प्रमुख थिए । खडानन्द वाग्ले यी पुस्तकहरु ठूलो दुर्गा अधिकारीलाई दिएर वीरगन्ज जानु भयो । ठूलो दुर्गा अधिकारीले यी पुस्तक आफूले पढ्नु भयो र राम प्रधानलाई पनि दिनु भयो । यी पुस्तक पढे पछि राम प्रधानको सुषुप्त राजनीतिक चेतना जागृत भयो । तत्कालको सामाजिक परिवेश र निरंकुश पञ्चायती व्यवस्थाको रवैयाले रामको मनमस्तिष्कलाई आन्दोलित गरायो । खडानन्द वाग्लेसँगको बेलाबेलाको भेटघाट, ठूलो दुर्गा अधिकारीको संगत र पंचायत समर्थक संकुचित निरंकुश कार्यकर्ताको नकारात्मक क्रियाकलापले रामलाई पञ्चायती निरंकुशताका विरुद्ध झन् झन् दुढ भएर सक्रिय हुन प्रेरित गरिरहे । राम प्रधानले प्राप्त गर्नुभएको चेतनाको प्रवाह क्रमशः विस्तारित हुन थाल्यो । यसको फलस्वरुप बलबहादुर अधिकारी, विदुर चापागाईं, मदन पाण्डे, सोमनाथ चापागाईं, भीम वाग्ले, इन्द्रमाया प्रधान, सानो दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारी, हस्तबहादुर दियाली, दाहाल्नी आमै, बलबहादुर खाती, शिवलाल पाण्डे, राम प्रधान, आदि सहकर्मीको एउटा जमात तयार भयो । पंचायत राजनीतिकका विरुद्ध संगठित संगठनको प्रत्यक्ष, अप्रत्यक्ष, सम्पर्कले विभिन्न राजनीतिक गतिविधि हुन थाले । गाउँ गाउँमा सेल्टरहरु निर्माण भए । प्रशिक्षण पनि हुन थाले । यसको सँगसँगै यसका विरुद्ध जासुसहरु पनि लागेकै थिए । विस्तारै विस्तारै राम प्रधानको राजनीतिक गतिविधि विस्तारित हँुदै गयो । यो गतिविधि बुधबारेमा मात्र सीमित भएन । यसको विस्तार शान्तिनगर, जिर्मले, बाँहुन्डाँगी, इलामको शान्तिपुर, कोलबुङ्ग, देवानछापसम्म भयो । यही बीचमा २०२८ सालमा झापा विद्रोह भयो । यसले नेपालको राजनीतिमा एउटा जबर्जस्त र अत्यन्त प्रभावकारी तरङ्ग पैदा ग¥यो । यसले पञ्चायती व्यवस्थाको जगलाई हल्लाइ दियो । सरकार अत्यन्त संशकित, क्रुद्ध, भयभीत, र निरंकुश भएर अन्धाधुन्द रुपमा आतङ्क मच्चाउन थाल्यो । हजारौं निदोषर््ा नागरिक यसको चपेटामा परे । सचेत जनता क्रुद्ध, उकुसमुकुस र सर्वसाधारण भयभीत र त्रसित भएर सल्बलाउन थाले । पूर्वाग्रही र निरंकुश पंचहरुले सबै प्रकारका आफ्ना विरोधीहरु माथि जाइलाग्ने सुनौलो अवसर पाए । यस्तो परिस्थिति उत्पन्न भएकोले राम प्रधान सहित सचेत कार्यकर्ताहरु भूमिगत भए । राम प्रधानलाई पनि झापा काण्डमा भाग लिएको अभियोग लाग्यो । उहाँ २०२९ सालदेखि भूमिगत हुनुभयो ।
भूमिगत कालमा पाटीका गतिविधि सञ्चालन गर्न कार्यकर्ताका बीच भेटघाट गर्न, प्रशिक्षण सञ्चालन गर्न, कार्यकर्ताका बीच भेटघाट गर्न, प्रशिक्षण सञ्चालन गर्न विभिन्न गाउँका दुर्गम, अभेग र गोपनीयताका दृष्टिले सुरक्षित स्थान र सर्वसाधारण जनताका घरमा सेल्टरहरुको स्थापना गरिएको हुन्थ्यो । ती सेल्टर मध्ये एउटा सेल्टर इलामको जुरेमा थियो । राम प्रधानका समकालीन सहकर्मीका भनाई अनुसार तत्कालीन पञ्चायती प्रशासन, पुलिस प्रशासन, पञ्चायत भिन्न राजनीतिक चिन्तन भएका बुद्धिजीवी, सामाजिक कार्यकर्ताहरु प्रति ज्यादै कठोर र अनुदार भाव बोक्ने प्रशासनका पिठ्ठु र सुराकीहरुले राम प्रधानका गतिविधिहरुलाई गोप्य रुपले नियालि रहेका थिए । राम प्रधानहरु पनि विभिन्न सेल्टरहरुमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका थिए । यस्तै परिस्थितिमा २०३० कार्तिक ५ गते बेलुका इलाम शानितपुर जुरेमा रहेको सानो दुर्गा अधिकारीकी दिदी नरमाया र भिनाजु गंगाधर ढुंगेलका घरमा राजनीतिक प्रशिक्षण सम्पन्न गरी छिमेकी प्रजापति ढुंगेलका घरमा राम प्रधान र सानो दुर्गा अधिकारी सुतिरहेका अवस्थामा त्यस घरलाई झापाबाट गएका प्रहरी र तत्कालीन निरंकुश सरकार र प्रशासनका पिठ्ठूहरु सहित लगभग ६० जनाले घेराउ गरे । घर घेरिए पछि राम प्रधान घरको तलामाथि चढेर रित्तो भकारी भित्र पस्नु भयो । तलामाथि राम लुकेको आभास पाएर प्रहरीहरुले तलामाथि चढेर उहाँलाई ओह्राल्ने विचार गरे तर उनीहरु तलामाथि चढ्न सकेनन् । घरको तला बाँसको चिमले छापेको थियो । राम भकारी भित्र भएको प्रहरीले थाह पायो । छिप्पिएका बाँसका तिखा भाटाले तलामुनिबाट उहाँको शरीरलाई घोच्न र छेड्न थालियो । तलामुनि ओर्लने आदेश दिन थालियो । ओर्लिएको खण्डमा, आत्म समर्पण गरेको खण्डमा केही नगर्ने, दुःख नदिने भनियो । राम प्रधान ओर्लन चहानुभएन, आत्मसमर्पण गर्न चाहनु भएन । तलबाट घुसारिएका भाटालाई कम्मरमा भिरेको खुकुरी झिकेर काट्न टुक्राउन थाल्नु भयो । घण्टौं सम्म प्रहरीले भाटाले घोच्ने र उहाँका शरीरका अंग प्रत्यङ्गहरु रगतपच्छे र छियाछिया भए । उहाँले तिखा भाटाको प्रहार सामना गरिरहनु भयो । जब ती तिखा भाटाहरुले उहाँको गुप्ताङ्गलाई छियाछिया पारे तब उहाँ लड्नुभयो । निरंकुश पञ्चायती व्यवस्था मुर्दावाद जनवादी व्यवस्था जिन्दावाद भन्दै छटपटाउँदै मूर्छित हुनुभयो । उहाँ मूर्छित भएको थाह पाएर प्रहरीले घर फोरेर उहाँको शरीरलाई तल झारियो । त्यसपछि प्रहरी र सुराकीहरुले उहाँलाई झोलुङ्गोमा हालेर झापा चन्द्रगढी तिर झारियो । केही समयपछि शान्तिपुर चैनपुरेमा ल्याएर विसाइयो । त्यसपछि दारेगौडामा ल्याएर फेरि बिसाइयो । त्यहाँ उहाँले पानी माग्नु भयो । पानी दिइएन । पानीको सट्टा मुखमा पिसाब फेरिदिने धम्की दिइयो । त्यसपछि विरिङ खोलामा ल्याइपु¥याएपछि उहाँको प्राण गयो । उज्यालो हुँदा भोटेटारमा अहिले सालिक राखेको ठाउँमा ल्याइपु¥याइयो । त्यहाँ एकछिन राखेर उहाँको लासलाई होक्से स्कुलका प्राङ्गणमा ल्याएर प्रदर्शनका लागि राखियो । राजद्रोही, देशद्रोहीको गति यस्तै हुन्छ भनियो । त्यसको प्रतिरोधमा चुइक्क बोल्ने आँट कसैको थिएन । सर्व साधारण चुपचाप टुलुटुलु हेर्न विवश थिए । त्यसपछि उहाँको लासलाई चन्द्रगढी लगी पोस्टमार्टम गरियो र परिवारलाई जिम्मा लगाइयो । यसरी सहिद राम प्रधानको भौतिक शरीरको अन्त्य भयो तर उहाँ जनताका हृदयमा जीवितै हुनुहुन्छ ।
निम्न मध्यम परिवारमा जन्मिई संधर्षशील जीवन बाँचेका राम प्रधानको शरीरको उचाइ करिब ५ फिट २ इन्च थियो । उहाँको शरीर खँदिलो, सुगठित र फुर्तिलो थियो । हल्का कालोवर्णको अनुहार भएका राम प्रधान नम्र र ठठयौलो स्वभावका हुनुहुन्थ्यो। उहाँका समकालीन सहकर्मीहरुका भनाइअनुसार उहाँ कमेज, सट, पेन्ट, कोट र कालो टोपी लाउन मनपराउनु हुन्थ्यो । एक पटक सुनेको कुरा नविर्सिने, अह«ाइएको वा जिम्मा पाएको काम अत्यन्त जिम्मेवारीका साथ पूरा गर्ने, गोपनीयतामा पक्का, विचारमा दृढ राम प्रधानले पछिल्ला दिनहरुमा व्यक्तिगत र पारिवारिक कामलाई भन्दा सामाजिक र पार्टीको कामलाई बढी प्राथमिकता दिनुहुन्थ्यो । देश र जनताको भलाइका लागि जीवन उत्सर्ग गरेका सहिद राम प्रधानको जीवनीबाट प्रेरणा प्राप्त गरी उहाँको विचार र सपना साकार पार्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ । उहाँको सपना पूरा गरौं । अमर सहिद राम प्रधान जिन्दावाद ।
(सहिद राम प्रधान स्मृती केन्द्र नेपाल बुधवारे झापाको तर्फवाट क.दुर्गा अधिकारी,क.खडानन्द वाग्ले र क.वेनुप्रसाद पनेरुले तयार गर्नु भएको)