२५ कार्तिक, २०८०
दमक\ नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले देशमा बलियो राष्ट्रिय शक्ति नहुँदा वैदेशीक हस्तक्षेप बढेको बताउनु भएको छ । देशलाई स्वाधिन र बलियो बनाउन बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको उहाँको भनाई छ ।
शनिबार दमकमा भएको शुभकामना आदन प्रदान कार्यक्रममा नेता दाहालले नेकपा एमालेले शुरु गरेको मिशन ८४ अभियान सोहि केन्द्रित रहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो,‘एमालेले सत्तामोह र सत्ताउपयोगका लागि मिशन ८४ गरेको होईन, बलियो राष्ट्रिय शक्ति निर्माण यसको मुख्य उदेश्य हो ।’
नेपाली कांग्रेस आफु बलियो शक्ति बन्न नसक्ने र उसले बनाउन समेत नसक्ने भन्दै एमाले स्थानीय तह विकास विभागका प्रमुख समेत रहनु भएका नेता दाहालले ंसदीय निर्वाचनमा पहिलो भएको दल तेश्रो शक्तिको बैशाखीमा उभिनुले पनि यसको पुष्टि गरेको उल्लेख गर्नु भयो । माओवादी केन्द्र पहिलो र दोश्रो शक्तिका विचमा खेलेर लाभ लिनमात्र केन्द्रित भएको दाहालले टिप्पणी गर्नुभयो ।
प्रेस चौतारी नेपाल माईपश्चिम क्षेत्रीय समितिले संयोजन गरेको कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, स्थानीय तह विकाश विभाग सचिव हर्कराज राई, प्रदेश सभा सदस्य होमबहादुर थापा, प्रदेश कमिटी सदस्यहरु अम्बिका खनाल, बेनुप्रसाद शिवाकोटी, जिल्ला सचिव शिव ढुंगेल,नगर ईन्चार्ज वोधराज घिमिरे, अध्यक्ष गेहनाथ पोखरेल, उपाध्यक्ष दिपेश दाहाल, अनेमसंघ जिल्ला सचिव लिला ढुंगेल लगायतका नेता कार्यकर्ताहरुले आफ्ना धारणा सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रेस चौतारी केन्द्रिय सदस्य टीकाराम उप्रेती, केन्द्रिय लेखा आयोग सदस्य विष्णुप्रसाद पोखरेल, प्रदेश महासचिव गोपाल झापाली, कोषाध्यक्ष युवराज विवश, जिल्ला अध्यक्ष मनकुमार गदाल, क्षेत्रीय कमिटी अध्यक्ष भुमिराज पराजुली, नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष विमल लामिछाने, जिल्ला सचिव डिकेश लामा, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई लगायतले सामाजिक सञ्जालका माध्यमबाट सामाजिक सद्भाव विगार्न खोज्ने तत्वहरुलाई नियमन गर्न सक्ने कानूनी व्यवस्था गर्न खाँचो रहेको बताउनु भएको थियो ।
उद्धार र राहतमा विभेद नगर्न आग्रह
नेता देवेन्द्र दाहालले जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पका कारण क्षती व्यहोरेका पिडीतहरुलाई विना विभेद उद्धार र राहतको काममा जुट्न सरकारलाई आग्रह गर्नु समेत भएको छ ।
कार्यक्रममा नेता दाहालले भुकम्प पिडीतहरुले उद्धार तथा राहतमा समेत विभेद भएको र पूर्वाग्रह राखिएको गुनासो गरेकाले त्यो विषय गम्भिर भएको जनाउनुभयो । ‘यदि त्यस्तो भएको हो भने यो गम्भिर हो, सरकारको यसबारेमा ध्यान जान जरुरी छ’ उहाँले भन्नुभयो, ‘२०७२को भुकम्पमा समेत यस्तो थिएन तर यस पटक किन यस्तो गुनासो आई रहेको छ, गम्भिर हुनु पर्यो ।’
फाल्गुनन्दको योगदान महत्वपूर्ण
उहाँले पूर्वी नेपालको समाज रुपान्तरणमा महागुरु एवम् राष्ट्रिय विभूती फाल्गुनन्दको योगदान महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो । महागुरुको जन्मजयन्तीको सन्दर्भमा आफ्नो धारणा राख्दै नेता दाहालले उहाँले दिनु भएको विचार र दर्शन अनुशरण गरेर समाज रुपान्तरण र विकासमा लाग्न आवश्यक भएको समेत उल्लेख गर्नुभयो । प्रेस चौतारी नेपाल माई पश्चिम क्षेत्रीय समितिले कार्यक्रमको संयोजन गरेको अध्यक्ष भुमिराज पराजुलीले जानकारी दिनुभयो ।