असार ४, २०८० सोमबार
काठमाडौं-नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले बालवालिकाहरुको सर्वाङ्गिण विकासका लागि सवैले प्राथमिकता दिनु पर्ने बताउनु भएको छ।
बालबालिका, किशोर-किशोरी तथा युवाहरुलाई उचित वातावरणमा हुर्कने, शिक्षा तथा स्वास्थ्य सुविधा लिने र रुची अनुसार क्षमता विकासको आधार तयार पार्न राज्यले समेत ध्यान दिँदै आएको समेत उहाँको उल्लेख गर्नुभयो । यस प्रकारका कार्यक्रमहरु पर्याप्त नभएकाले तिनै तहका सरकार तथा जनस्तरबाट पनि ध्यान दिइन आवश्यक रहेको उहाँको भनाइ छ।
सोमबार सिंहदरवारस्थित दलको कार्यालयमा युवाका लागि साथ साथ आवाज नेपालको तर्फबाट बुझाइएको ज्ञापन पत्र बुझ्ने क्रममा उहाँले आफ्नो पार्टीले विगत देखि नै बालबालिका तथा युवाका सवालहरुलाई प्राथमिकता दिँदै आएको पनि उल्लेख गर्नुभयो।
कार्यक्रममा नेकपा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाको समेत उपस्थिती रहेको थियो।
ज्ञापन पत्र बुझाउने क्रममा सो संस्थाकी कार्यक्रम संयोजक सुरवी राजउपाध्यायले बाल सहभागीता, संस्थागत तथा नीतिगत व्यवस्था, बाल बचाउ, बाल संरक्षण र बाल विकासका सवालहरुमा दलका नेताहरुको ध्यानाकर्षण गराईएको बताउनु भयो।
नेपालको संविधानले बालबालिकाहरुको हकलाई मौलिक हकको रुपामा व्यवस्था गरेको स्मरण गराउँदै सोहि अनुसारको वातावरण बनाउन नीतिगत सुधारको अपेक्षा सहित विभिन्न दलका नेता तथा सांसदहरुलाई ति विषयबारे जानकारी गराईएको संस्थाका सदस्य सुजन अधिकारीले जनाउनु भएको छ।