सार्वजनिक यातायातलाई प्रविधियुक्त र स्तरीय बनाउन मन्त्री दाहालको जोड



असार ३२, २०८२ बुधबार

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द दाहालले सार्वजनिक यातायात क्षेत्रलाई प्रविधियुक्त र थप स्तरीय बनाउनु पर्नेमा जोड दिनुभएको छ।

महानगर यातायात प्रालिले बुधबारदेखि शुरु गरेको विद्युतीय बस सेवाको शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको योगदान प्रशंसनीय रहेको पनि बताउनुभयो।

विद्युतीय सवारी साधन, विद्युतीय भुक्तानी जस्ता नविन विषयहरुको उपयोगबाट सेवालाई स्तरीय बनाउन सकिनेमा उहाँले जोड दिनुभयो। ‘विद्युतीय भुक्तानीको विषय सामान्य भई सकेको छ। अचेल सामान्य व्यवसायमा समेत यसको उपयोग भई रहेको छ’ मन्त्री दाहालले भन्नुभयो, ‘खै किन किन सार्वजनिक यातायातमा यसको प्रयोगमा ढिलाई भई रहेको छ तर अब ढिला नगरौं, सरकारको तर्फबाट गर्नु पर्ने कामका लागि हामी तयार छौं।’

सडक तथा पूर्वाधार निर्माणलाई विश्वस्तरीय बनाउने काम भई रहेको भन्दै मन्त्री दाहालले दिगो, गुणस्तरीय, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउन सरकारले ध्यान दिएको बताउनुभयो।

कार्यक्रममा बागमती प्रदेशका श्रम तथा भौतिक पूर्वाधार मन्त्री प्रेमभक्त महर्जनले संवैधानिक व्यवस्था अनुसार यातायात क्षेत्रको नियमन र व्यवस्थापनका लागि प्रदेश तहबाटनै काम भई रहेको बताउनुभयो। यसैगरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नीतिगत सुधार र व्यवस्थापनका लागि सरकारले काम गरि रहेको भन्दै सेवा प्रवाहलाई स्तरीय बनाउन व्यवसायीहरुबाट भई रहेको प्रयास सह्रानिय रहेको बताउनभयो।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतले सार्वजनिक यातायात पहुँचयोग्य र स्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो।

महानगर यातायात प्रालिले एकसाथ १२ ओटा ठुला यात्रुबाहक विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस