जनतामा छरिएका भ्रम चिर्न अनेरास्ववियूलाई मन्त्री दाहालको आग्रह



३ असार २०८२

अनेरास्ववियूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका विभिन्न भ्रमहरू चिर्न आग्रह गरेका छन्।

देशमा केही भएन र हुँदैन भन्ने ढंगबाट नागरिकमा भ्रम छर्ने काम भइरहेको भन्दै त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको समेत उनले बताएका छन्। मन्त्री दाहालसँग भेटका लागि आएको अखिलको नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गरेका हुन्। हालै सम्पन्न अनेरास्ववियूको २४ औं महाधिवेशनमा झापाबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको टोलीले मन्त्री दाहालसँग भेट गरेको हो।  

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य समेत रहेका मन्त्री दाहालले नेपालको शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको संगठनले गुणस्तरीय, जीवन उपयोगी र व्यावहारिक शिक्षाका लागि पनि नेतृत्व लिने विश्वास व्यक्त गरे। 

अखिलको महाधिवेशनबाट नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्षमा निर्वाचित प्रकाश विष्टसहित केन्द्रीय सदस्य एवं सचिवालय सदस्यमा निर्वाचितहरूले मन्त्री दाहालसँग भेट गरेका हुन्। भेटका क्रममा नेकपा (एमाले) झापा काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष मनोद दाहाल, अखिलका पूर्व सचिव मनोज ताम्ली लगायतले नवनिर्वाचित नेतृत्वलाई वधाई तथा शुभकामना दिएका थिए।

जनतामा छरिएका भ्रम चिर्न अनेरास्ववियूलाई मन्त्री दाहालको आग्रह | Nagarik News

प्रतिक्रिया दिनुहोस