भौतिक मन्त्री दाहालद्वारा प्रविधियुक्त शिक्षामा जोड



९ बैशाख, २०८२
काठमाडौ,
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक रहेको बताउनु भएको छ ।
मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवद्र्धन शाखा मार्फत मंगलबार विभिन्न विद्यालयहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै उहाँले शैक्षिक प्रणाली र गुणस्तर सुधार सवैको दायित्व भएको पनि उल्लेख गर्नु भयो । विश्व स्तरमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न विद्यालय तहदेखि बलियो जग बनाउनु पर्नेमा जोड दिँदै मन्त्री दाहालले शिप र प्रविधियुक्त शिक्षाले स्वदेशमानै स्वरोजगारी सिर्जनामा पनि सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

शाखा मार्फत १३ सामुदायीक विद्यालय, एक क्याम्पस र एक सामाजिक संस्थालाई विभिन्न शैक्षिक तथा विद्युतीय सामाग्री वितरण गरिएको हो । शाखा प्रमुख प्रकाश आचार्यका अनुसार १० थान डिजिटल स्मार्ट वोर्ड, १४ थान कम्प्युटर र २ थान प्रिन्टर प्रदान गरिएको हो । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा सोहि शाखा मार्फत उपलव्ध गराईएको विभिन्न शैक्षिक सामाग्रीहरु विभिन्न जिल्लाका सामुदायीक विद्यालयहरुलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस