रुग्ण आयोजनाबारे भौतिक मन्त्री दाहालको निर्देशन : ‘कानून नपर्खनु, भएको व्यवस्था अनुसार काम गर्नु’




काठमाडौ
८ बैशाख, २०८१,
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाहरुको समस्या समाधानमा ढिलाई नगर्न निर्देशन दिनु भएको छ । रुग्ण तथा अलपत्र अवस्थामा रहेका आयोजनाहरुको विश्लेषण र समाधानका उपाय कार्यान्वयन तर्फ लाग्न समेत उहाँको निर्देशन छ ।

मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सहसचिवहरु, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरु तथा विभिन्न आयोजना प्रमुखहरुलाई सोमबार निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘रुग्ण आयोजनाको पहिचान देखि समस्या समाधान सम्मका काममा ढिलाई हुनु भएन, यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु होला ।’ तोकिएको समयमा काम नहुने, सुस्त हुने तथा पटक पटक हुने म्याद थपले विकास निर्माण प्रकृयामा ढिलाई भई रहेको भन्दै कार्यक्षेत्रमा देखिने गरि परिणाम ल्याउन उहाँले कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभयो । ‘कहिले कुन कानुन, नियम वा नियमावली आउँछ भनेर नपर्खनुस्’ मन्त्री दाहालको भनाई थियो, ‘अहिले विद्यमान कानूनी व्यवस्था जे छ त्यहि अनुसार अघि बढ्नुस्, अब पनि ढिलाई गर्ने बेला छैन ।’

मन्त्रालयका सचिव केशवकुमार शर्माले रुग्ण आयोजनाहरुबारे मसिनो गरि अध्ययन् गरिएको भन्दै आयोजनागत रुपमा समाधानतर्फ मन्त्रालय केन्द्रित रहेको बताउनुभयो । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले कानूनी व्यवस्था अनुसार रुग्ण आयोजनाहरुका बारेमा समस्या समाधान गर्न प्रत्येक कार्यालयहरुले काम अघि बढाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस