सडकलाई समृद्धिसँग जोड्नुपर्छ: भौतिकमन्त्री देवेन्द्र दाहाल



पुस १५, २०८१ सोमबार

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरूलाई आर्थिक समृद्धीसँग जोड्नु पर्ने बताउनुभएको छ।

सडक बोर्ड नेपालको २२औं स्थापना दिवसको अवसरमा २०८१ पुस १५ गते सोमवार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री दाहालले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धीसँग जोड्न आवश्यक रहेको बताउनुभयो।

अब बन्ने संरचनाहरुले देशको समृद्धी यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उहाँको भनाई थियो। नेपाल अझै पनि निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरुलाई दिगो, सुरक्षित र उपयोगी बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

जनजीविका, राजश्व संककल, आर्थिक क्रियाकलाप तथा वृहत जनसंख्या र भूगोललाई प्रत्यक्ष फाईदा पुर्‍याउने योजनाहरुमा मन्त्रालयले प्राथमिकता दिएको भन्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नु पर्ने समेत बताउनुभयो। कार्यक्रममा मन्त्री दाहालले सडक वोर्ड अन्तर्गत रहेका रुग्ण ठेक्काहरुको शिघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गर्नु भयो।

वोर्डका अध्यक्ष मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आर्थिक वृद्धीको प्रमुख आधार सडक समेत भएकाले आर्थिक विकास र वृद्धीलाई सहयोग पुग्ने गरि सडक सञ्जाल विस्तार गर्नु पर्ने बताउनु भयो। पूर्वाधारमा गरिएको लगानीले दिर्घकालिन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो।

वोर्डका कार्यकारी निर्देशक गणेश केसीले वोर्डलाई स्वायत्त बनाउने तर्फ सरकारको ध्यान जानु पर्ने बताउनु भएको थियो भने कार्यक्रममा वोर्डका पूर्व सदस्यहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा वोर्डको गत आर्थिक वर्षको प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस