बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गरौं भौतिकमन्त्री



२०८१ पुष ५ गते

५ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजद्वारा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री दाहालले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल्लो तहबाटै योजना छनोट गर्नुपर्नेमा जोड दिए ।

उनले माथिल्लो तहबाट आयोजना छनोट गरिने विधिको अन्त्य गर्नुपर्ने पनि बताए । मन्त्री दाहालले चालु आर्थिक वर्षको बजेटमाथि प्रश्न गर्दै यही बजेटले विकास निर्माणका काम गर्न नसक्ने बताए ।

उनले पुलमा मात्रै अघिल्लो सरकारले ६९ लाख बजेट छुट्याएको तर पुलको सख्या ६ सय ५३ रहेको बताए । यो बजेटले पुल बन्न नसक्ने बताए । सरकारले विकास निर्माणमैत्री ऐन बनाउने उनको भनाइ छ ।

योजना आयोगले बनाएको योजना बैंकमा भएका आयोजनालाई सरकारले बेवास्ता गरेको भन्दै अब त्यसमा सुधार गर्न आवश्यक रहेको मन्त्री दाहालको भनाइ छ ।

सरकारले पूर्वाधार निर्माणका आयोजनालाई प्राथमिकताका आधारमा छनोट गरी निर्माण कार्य अगाडि बढाउँदा मात्रै निर्माण क्षेत्रका समस्यामा कमी आउने उनले बताए ।

‘पूर्वाधार निर्माणमा सरकारले योजना आयोगले बनाएको योजना बैंकमार्फत लिएर काम गर्नुपर्ने हो, यसमा सरकारले बेवास्ता गरेको छ,’ उनले भने, ‘त्यसलाई सुधार गर्न आवश्यक छ ।’

सरकारले बजेटमा आयोजनाहरू ल्याउँदा प्राथमिकताका आधारमा छनोट हुन जरुरी रहेको र आयोजना छनोट हुँदा आयोजनाले मुलुकलाई प्रतिफल दिनुपर्ने उनले बताए ।

मन्त्री दाहालले मुलुकमा रहेका रुग्ण आयोजनालाई लामो समय राख्न नहुने पक्षमा सरकार रहेको बताए । उनले निर्माण व्यवसायीसँगको सहकार्यमा मन्त्रालयले रुग्ण आयोजनाको विषयलाई टुंगोमा पुर्‍याउने बताए ।

त्यसैगरी निर्माण व्यवसायीको भुक्तानीलाई पनि सरकारले निरन्तर दिइरहेको बताए । निर्माण व्यवसायीको ३ अर्ब भुक्तानी बाँकी रहेको भन्दै सरकारले केही दिनभित्रै चुक्ता गरिसक्ने उल्लेख गरे ।

उनले पूर्वाधार निर्माणका कार्यलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

नारायणगढ–बुटवल सडक निर्माणको काम सुरु भएको र ठेकेदार कम्पनीले सडक निर्माणको काम अघि बढाउनेमा विश्वस्त रहेको बताए ।
समाचार श्रोत बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गरौं : भौतिकमन्त्री – Online Khabar

प्रतिक्रिया दिनुहोस