१६ मंसिर, काठमाडौं । सरकारले निर्माण व्यवसायीको गत आर्थिक वर्ष २०८०र८१ मा रोकिएको भुक्तानीयोग्य रकममध्ये थप सवा ३ अर्ब रुपैयाँ दिने तयारी गरेको छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आगामी दुई साताभित्र यो रकम भुक्तानी दिने तयारी छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार अघिल्लो आव प्रक्रिया पूरा गरेर भुक्तानीयोग्य बनेको ८ अर्ब ६६ करोड बराबर भुक्तानी रोकिएको थियो ।
त्यसपछि गत साउनमै ५ अर्ब रुपैयाँभन्दा माथिको भुक्तानी भइसकेको छ । बाँकी आगामी १५ दिनभित्र दिने तयारी छ ।
उक्त रकम तिरेसँगै अघिल्लो आव तिर्नुपर्ने भनी तयार भएको दायित्व फरफारक हुने मन्त्रालयले जनाएको छ ।
निर्माण व्यवसायीले भने विभिन्न विकासे मन्त्रालयबाट झन्डै आधा खर्ब बराबर भुक्तानी रोकिएको दाबी गर्दै आएका छन् ।
विकासे मन्त्रालयमध्ये सबैभन्दा धेरै विकास खर्च भौतिक मन्त्रालयले गर्छ । निर्माण व्यवसायी र सरकारको हिसाबकिताब फरक पर्नुमा भने प्रक्रिया पूरा गरी भुक्तानीयोग्य नबनेका बिलसमेत अनुमान गरिएको मन्त्रालयको दाबी छ ।
लाग्ने थाले नयाँ ठेक्का
चालु आव २०८१\८२ का लागि समेत नयाँ ठेक्का लाग्ने प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार यस वर्षसम्म सडकमा मात्र २ हजार १ सयभन्दा बढी आयोजना सक्रिय छन् । जसको लागत साढे २ खर्ब बराबर छ । ‘आयोजनाको संख्या तलमाथि भइरहन्छ,’ उनले भने, ‘तर, अहिले नयाँ ठेक्का धमाधम लागिरहेको छ ।’
प्रक्रिया छिटो गर्ने मन्त्रीको प्रतिबद्धता
भौतिकमन्त्री देवेन्द्र दाहालले मन्त्रालयको काम र प्रक्रिया छिटो–छरितो बनाउन आफू सक्रिय रहेको बताए ।
उनका अनुसार मन्त्रालयले फाइल ‘ट्र्याकिङ सिस्टम’ बनाइरहेको छ । यसले मन्त्रालयभित्र हुने कामको उल्झन कम गर्न सहयोग पुग्ने छ ।
Source : निर्माण व्यवसायीको रोकिएको मध्ये थप सवा ३ अर्ब भुक्तानी तयारी – Online Khabar