११ हजार नक्कली आयोजना खारेज गर्छौं : मन्त्री दाहाल



१६ मंशिर, २०८१

काठमाडौँ \ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालू आर्थिक वर्षको बजेटमा पास नभएका ११ हजार नक्कली आयोजना अध्ययन गरेर खारेज गर्ने बताएका छन्।

आइतवार मन्त्रालयमा पूर्वाधार पत्रकारसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। उनले नक्कली आयोजना खडा गरी अनावश्यक रूपमा बजेटमा राख्ने प्रवृत्ति सरकारले अन्त्य गर्ने स्पष्ट पारे। उनले ११ हजार नक्कली आयोजनाका सन्दर्भमा प्रधानमन्त्रीले बारम्बार प्रश्न उठाएकाले मन्त्रालयले अध्ययन गरेर हटाउने बताए।

उनले संसद्ले पास गरेको आयोजनाभन्दा कसरी बढ्यो भन्ने कुराको अध्ययन हुने बताए। उनले भौतिक पूर्वाधार क्षेत्रमा धेरै समस्या रहेको बताए। उनले गत आर्थिक वर्षमा व्यवसायीले पाउनुपर्ने रकम आगामी १५ दिनभित्रै भुक्तानी गर्ने बताए। उनले सरकार अहिले ठेक्का लगाउने काममा लागिरहेको भन्दै सरकारसँग धेरै अपेक्षा रहेको तर पूरा गर्न साधन स्रोतको अभाव रहेको बताए।

उनले सरकारले स्रोत साधनको आधारमा टेण्डर तथा ठेक्का लगाउने काम क्रमशः शुरु गरेको बताए। उनले सरकारले आयोजनाको फाइल कुन मन्त्रालयमा कुन अवस्थामा छ भन्ने विषयमा फाइल ट्रयाकिङ प्रणालीको विकास गर्न थालेको पनि बताए। सडक सुरक्षासम्बन्धी विधेयक अबको संसद् अधिवेशनमा लैजाने तयारी रहेको पनि मन्त्री दाहालले जानकारी दिए।

मन्त्री दाहालले भने‚ ‘११ हजार नक्कली आयोजना कसरी बीचैमा आए। संसद्ले पास गरेका आयोजनाभन्दा कसरी बढे भन्ने कुराको अध्ययन हुनुपर्छ। नक्कली आयोजना खडा गरी अनावश्यक बजेट राख्ने प्रवृत्तिका बारेमा अध्ययन गरी ती आयोजनालाई डिलेट गर्ने बाहेक अरू उपाय छैन।’

भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले चालु आर्थिक वर्षका केही बहुवर्षीय ठेक्काको काम गर्ने योजना रहेको बताए। सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सडक विभागले अहिले दैनिक गरी दुई हजार १०६ आयोजना ठेक्का लागिरहेको बताए।

Source ; थाहा खबर: ११ हजार नक्कली आयोजना खारेज गर्छौं : मन्त्री दाहाल

प्रतिक्रिया दिनुहोस