नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल



काठमाडौँ, असोज ४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताउनुभएको छ ।

पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान सङ्घ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौँमा भएको भेटमा मन्त्री दाहालले नेपाली मौलिकता र नेपाली सङ्गीतको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । नेपालका सबै जाति, भाषा, संस्कार र संस्कृति संरक्षणमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले कुनै पनि जातजातिको संस्कृति सङ्कटमा परे राज्यको  परिचय नै सङ्कटमा पर्ने बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबै जातजातिको संस्कृति संरक्षणका लागि आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने बताउनुभयो ।

पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान सङ्घका अध्यक्ष रवीन गन्धर्वले आफ्नो संस्थाले नेपाली मौलिक सङ्गीतको संरक्षण गर्न देशव्यापी अभियान सञ्चालन गरिरहेको बताउनुभयो । गन्धर्व जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्नुपर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने, सङ्गीतमाथिको हस्तक्षेप रोक्नुपर्नेलगायतका विषयमा जागरण फैल्याउन अभियान थालिएको उहाँको भनाइ थियो ।

सो अवसरमा झापाको कचनकवल गाउँपालिकामा गन्धर्व सङ्ग्रहालय, सभाहल, पहुँचमार्गलगायतका संरचना निर्माण गर्न तथा गन्धर्व बस्तीमा ‘होमस्टे’ सञ्चालन गर्न आवश्यक सहयोगका लागि आग्रह गरिएको अध्यक्ष गन्धर्वले जानकारी दिनुभयो । रासस

नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल (gorkhapatraonline.com)

प्रतिक्रिया दिनुहोस