कमलादी-टुकुचा, धसिएको कलभर्ट अनुगमन



श्रावण २५, २०८१ शुक्रबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक र सार्वजनिक यातायातलाई सुरक्षित बनाउन निर्देशन दिनुभएको छ।

अहिले वर्षा याम रहेको र विभिन्न स्थानमा सडक खाल्डा पर्ने, पहिरो जाने जस्ता समस्या भइरहेकाले त्यसबाट सडक र यातायात सुरक्षित बनाउन उहाँले निर्देशन दिनु भएको हो।

सङ्घीय राजधानी काठमाडौंका सडकको अनुगमन गर्दै उहाँले सडकलाई खाल्डाखुल्डी रहित बनाई सुरक्षित बनाउन मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो। शुक्रवार कमलादीस्थित टुकुचा खोलाको धसिएको कलभर्ट अनुगमनका लागि पुग्नुभएका मन्त्री दाहालले उक्त समस्याको कारण पहिचान गरी दिगो समाधान गर्न निर्देशन दिनुभयो। यस्तै राजधानीका विभिन्न सडकहरूमा खाल्डा खुल्डी पर्ने गरेको भन्दै ती समस्या समाधान गरी सहज यातायात व्यवस्थापनमा लाग्न समेत उहाँले निर्देशन दिनु भएको हो।

सडक तथा सडक किनारामा खाल्डाखुल्डी हुन नदिन र भएकालाई तुरुन्तै पुर्ने व्यवस्था मिलाउन उहाँको निर्देशन थियो। मन्त्री दाहालसँगै अनुगमनमा पुग्नु भएका मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सङ्घीय राजधानीका सडकहरूलाई सुरक्षित बनाउन मन्त्रालय र विभागले प्राथमिकता सहित काम गरिरहेको बताउनुभयो। यसै गरी देशका अन्य भागमा समेत बाढी, पहिरो, डुबान लगायतका कारण सडक अवरुद्ध भएमा तुरुन्तै खुलाउन सक्ने गरी जनशक्ति तथा उपकरण परिचालन गरिएको उहाँहरूको भनाई थियो।

यस अघि मन्त्री दाहालले काभ्रेपलान्चोकको सुर्यबिनायक–धुलिखेल सडक खण्ड अन्तर्गत बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको समेत अवलोकन गरी त्यहाँको समस्या समस्या समाधानका लागि संशोधन गर्नु भएको थियो । त्यस क्रममा उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकन गरी समस्याबारे स्थानीयसँग जानकारी समेत लिनुभएको हो।

प्रतिक्रिया दिनुहोस