छोडिएका कार्यभार पूरा गर्नु पर्नेमा नेता दाहालको जोड



चैत्र १, २०८०

काठमाडौ, नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रिय सभा प्रचारका दृष्टिकोणबाट ओझेलमा परे पनि महत्वपूर्ण र प्रभावकारी भुमिका खेलेको बताएका छन् । विधेयकहरु माथिको छलफल, पारित गर्ने विषय, समय व्यवस्थापन जस्ता विषयमा राष्ट्रिय सभाले मानक स्थापित गरेको उनको भनाई छ ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्वन्धि विशेष समितिका सुझावहरु कार्यान्वयन गर्नु पर्ने अबको दायित्व भएको उनको भनाई छ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्षलाई वधाई दिने क्रममा बुधबार संसदमा उनले यस अघि सभामा पेश भएका विभिन्न प्रस्तावहरु कार्यान्वयन अवको कार्यभार रहेको समेत जनाए ।

नेपालको संविधान अनुसार बन्न बाँकि कानूनहरुबारे अध्ययन गर्न बनेको विधायन समिति अन्तर्गतको उपसमितिले दिएका कार्यभार पनि पूरा गर्न दायित्व रहेको उनको भनाई छ । समितिले संघीयता कार्यान्वयनका लागि ४० कानून तत्काल संघले बनाउनु पर्ने, केहि प्रदेश र स्थानीय तहले बनाउनु पर्ने भनेर उल्लेख गरेको भन्दै त्यस तर्फ सभाको ध्यान जानु पर्ने बताए ।

संविधान अनुसार बन्न बाँकि रहेका मौलिक हक सम्वन्धि कानून निर्माण सम्वन्धि संकल्प प्रस्ताव, दलितहरुको हक सम्वन्धि संकल्प प्रस्ताव, अपांगता भएका व्यक्तिहरुको हक अर्थतन्त्रमा देखिएका समस्या सम्वन्धि सार्वजनिक महत्वको प्रस्ताव सदनमा पेश भई सकेको समेत उनले स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस