मंसिर २४, २०८० आईतबार
काठमाडौ- जघन्य अपराध सहेका पिडीतहरुलाई समेत सरकारले आफ्ना कुराहरु व्यक्त गर्न रोक्दै राज्य संयन्त्रको दुरुपयोग गरि रहेको पाईएको छ । गत जेठमा दाईजोका नाममा हत्या गरिएकी धनुषाकी २२ वर्षिय आरती शाहाका आफन्तले घटना संलग्नहरुलाई कार्वाहीको माग गर्दै विभिन्न निकाय र संवैधानिक आयोगमा जान खोज्दा पनि सरकारलेनै सुरक्षाकर्मी लगाएर रोक्ने गरेको छ ।
जिल्ला अदालत धनुषाले आरतीको हत्यामा संलग्नहरुलाई थुनामा राखि अनुसन्धान गर्न आदेश दिए पनि उच्च अदालत जनकपुरको वीरगञ्ज ईजसालले उल्ट्याई संदिग्धहरुलाई साधारण तारेखमा रिहा गरेको थियो । संलग्नहरु रिहा भए पछि पिडीत परिवार थप त्रसित बन्दै विभिन्न निकाय धाई रहेको थियो । तर उनीहरुलाई माईतीघर मण्डलामा अनसन बस्न समेत सुरक्षाकर्मी लगाएर लखेटिएको उनीहरुको गुनासो छ । यसै गरि मानवअधिकार दिवशका दिन राष्ट्रिय मानव अधिकार आयोगमा आफ्ना कुरा राख्न जाँदा समेत प्रहरी लगाएर गलत्याईएको उनीहरुले गुनासो गरे ।
आफुहरुलाई थप पीडा र पिडकलाई उन्मुक्ति दिने गरि फैसला गर्ने न्यायाधीश सर्वोच्च अदालतको न्याधीशमा सिफारि भए पछि परिवारले उनका विरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी दिएका थिए । आरतीको परिवारको तर्फबाट प्रेम साहले उक्त फैसला गर्ने न्यायाधीश सारङ्गा सुवेदी विरुद्ध समितिमा उजुरी दिएका थिए । उनको तर्फबाट दर्ता भएकोे उजुरीमा आरतीका हत्या प्रकरणमा जनकपुर उच्च अदालतमा हुँदा न्यायाधीश सुवेदी सहितले प्रमाणको मुल्यांकन नगरी कसुरदार आरतीका पति तथा ससुरालाई साधारण तारेखमा रिहा गरेको आरोप छ ।
सो उजुरी पछि समितिले उनीहरुलाई गुनासो राख्न समय दिँदा समेत सुरक्षाकर्मी लगाएर रोक्ने प्रयास गरिएको थियो । तर पटक पटकको आग्रह पछि सुरक्षाकर्मीको निगरानी सहित उनीहरु समितिमा गुनासो राख्न पुगेका थिए । त्यस पछि मात्र सरकारी संयन्त्रले पिडीतहरुलाई थप पिडा दिन राज्य संयन्त्रकै दुरुपयोग गरि रहेको सार्वजनिक भएको छ । मानव अधिकार दिवशकै दिन पिडीतहरुलाई आफ्ना गुनासा समेत राख्न नदिई मानवअधिकारको धज्जी उडाउनु निन्दनीय भएको समिति सदस्य समेत रहनु भएका नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले बताउनु भएको छ । सरकारले राज्य संयन्त्रको दुरुपयोग गरि पिडीतहरुलाई थप पीडा दिने कार्यको उहाँले भत्सर्ना समेत गर्नु भएको छ ।
आरतीको शव गत जेष्ठ ७ गते शंकास्पद अवस्थामा फेला परेको थियो । यस अघि समेत आरतीलाई दाईजोको बिषयमा पटक पटक यातना दिने गरेकाले उनको हत्या भएको दावि गर्दै आएको छ ।
source- https://yobela.com/2023/12/271168/?fbclid=IwAR3SMBGw8P_bxKsmw0b7E3ITgxCAtFJuA1ES9GfFc4LyEY7xxlvUgizbUwk