‘स्थानीय तहलाई बलियो बनाएर मात्र समाजवादको आधार तयार पार्न सकिन्छ’




२० असोज, २०८०
काठमाडौ,
नेकपा एमाले स्थानीय तह विभागका प्रमुख देवेन्द्र दाहालले स्थानीय तहलाई बलियो बनाएर मात्र समाजवादको आधार तयार पार्न सकिने बताउनु भएको छ । शनिवार कविता ढुंगानाद्वारा लिखित ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ नामक पुस्तक विमोचन कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयन मार्फत समाजवादको आधार तयार पार्नु पर्ने समेत बताउनु भयो ।

एमालेको राष्ट्रिय सभा संसदीय दलका नेता समेत रहनु भएका नेता दाहालले एमाले, कांग्रेस र माओवादी लगायतका मुख्य दललहरु जिम्मेवार भएर संघियतालाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । स्थानीय तह संवैधानिक रुपमा व्यवस्था गरिएका तीन तहका सरकार मध्ये सवै भन्दा आधारभूत तहको सरकार भएकाले यसलाई जनमूखी बनाउन सक्नु पर्ने नेता दाहालको भनाई थियो ।

राष्ट्रिय सभा मार्फत विभिन्न स्थानीय तहहरुको अनुगमन र अवलोकन गर्दा स्थानीय न्यायीक समिति मार्फत भएका निर्णयहरु कार्यान्वयनमा समस्या पाईएको समेत उहाँले बताउनुभयो । कतिपय निर्णय तथा फैसलाहरु कार्यान्वयन गर्दा सुरक्षाकर्मीको सहयोग आवश्यक हुने तथा प्रहरीले आफुहरुको क्षेत्राधिकार नभएको बताउने गरेकाले त्यस्ता फैसलाहरु कार्यान्वयन नहुने गरेको पाईएको दहालले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कतिपय अवस्थामा तिनै तहका सरकार र तिनका अंगहरु विचमा समन्वय र सहकार्य जरुरी देखियो । सहकार्य र समन्वय मार्फतनै संघीयतालाई बलियो बनाउँदै समाजवादको आधार तयार पार्न सकिने तर्फ हामीले ध्यान दिन जरुरी छ ।’

नुवाकोटको बेलकोटगढी नगरपालिकाकी पूर्वउपप्रमुख ढुंगानाले आफ्नो अनुभव र अध्ययनका आधारमा सो पुस्तक तयार पार्नु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, संघीयता विज्ञ वालानन्द शर्मा लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस