भारतीय विवादास्पद धर्मगुरुलाई भेटेकोबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ: देवेन्द्र दाहाल



भाद्र ५, २०८० मंगलबार

काठमाडाैं–नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले विवादास्पद भारतीय धर्मगुरु बागेश्वर बाबा (धीरेन्द्रकृष्ण शास्त्री) लाई नेपाल सरकारका मन्त्रीले भेटेकाेमा आपत्ति जनाउनुभएकाे छ।

मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै नेता दाहालले नेपालमा आएर नेपालकै राष्ट्रियतामाथि धावा बाेल्ने ती धर्मगुरुलाई भेटेकाे विषयमा स्वयम् गृहमन्त्री, परराष्ट्रमन्त्री वा सरकारले सदनलाई जवाफ दिनुपर्ने बताउनुभयाे ।

कथित धर्मगुरुले नेपालमा आएर बाेलेका-गरेका गतिविधि, अभिव्यक्ति र तिनलाई लाइन लागेरै भेट्नुकाे कारणबाट गृहमन्त्री र परराष्ट्रमन्त्रीले सदनलाई जवाफ दिनैपर्ने उहाँले बताउनु भयाे ।

नेता दाहालले भन्नुभयाे, ‘नेपालकाे राष्ट्रियता, सार्वभाैमिकता, स्वतन्त्रता र अस्मितामाथि धावा बाेल्ने, नेपाल विराेधीलाई देश निकाला गर्नुपर्नेमा, हाम्राे देशका गृहमन्त्री र परराष्ट्रमन्त्री समेत लाइन लागेर काठमाडाैंमा भेट्न गएकाे भन्ने खबर आएकाे छ, यस्काे वास्तविकता के हाे ? स्वयम् गृहमन्त्री, परराष्ट्रमन्त्री र सरकारले यसकाे जवाफ दिनुपर्छ, यी ठग व्यक्ति भारतमा मुद्दा लागेका व्यक्ति हुन्, यिनले नेपालमा आएर विभिन्न हर्कत गरिरहेका छन्, नवलपरासीका जनतालाई ठगिरहेका छन् ।’

कथित धर्मगुरु बागेश्वर बाबाले नेपाल भारतकाे अभिन्न अंग हाे भनेर नेपालकाे राष्ट्रियतामाथि धावा बाेलेका भन्दै उहाँले आपत्ति जनाउनु भयाे ।

भारतमा मुद्दा लागेका, जनता ठग्ने र नेपालकाे राष्ट्रियतामाथि धावा बाेल्ने ती ठग बाबालाई कुन हैसियतमा नेपालकाे पशुपतिनाथ मन्दिरमा स्वागत गरियाे भन्दै उहाँले प्रश्न गर्नुभयाे ।

यो समाचार योबेला डटकमले प्रकाशन गरेको छ

प्रतिक्रिया दिनुहोस