प्रस्तावित ६ राजदूत विरुद्ध ५ उजुरी



काठमाडौ\ प्रस्तावित ६ जना राजदूत विरुद्ध संसदीय सुनुवाई समितिमा ५ ओटा उजुरी परेका छन् । विभिन्न मुलुकका लागि सरकारद्वारा प्रस्तावित ६ जना राजदूतमाथि ५ वटा उजुरी परेको समितिले जनाएको छ ।

सरकारले विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेको थियो । उनीहरुको नियुक्तिका लागि संसदीय सुनुवाई हुनु पर्ने व्यवस्था अनुसार समितिले काम थालेको समिति सदस्य तथा नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिएका छन् ।

गत साउन ३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिन भित्र उजुरी दिन आश्वान गर्ने निर्णय गरेको थियो । प्राप्त उजुरीहरु उपर छलफल गर्न मंगलबार सुनुवाइ समितिको बैठक राखिएको छ ।उजुरीउपर अध्ययन गरेपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुनेछ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस