काठमाडौं-राष्ट्रिय सभाका नेकपा एमालेका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट शिर निहुर्याएर आएको तर्क गर्नु भएको छ।
शुक्रबार राष्ट्रिय सभामा आफ्नो धारणा राख्दै उहाँले प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणका क्रममा राष्ट्रियताका कुनै विषय नउठाएको, नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा राख्दा समेत केही नभनेको जस्ता विषयले शिर निहुरिएको पुष्टि गरेको पनि बताउनुभयो।
भारतको संसद भवनमा नेपाली भूमि समेत समेटेर नक्सा राख्नु आपत्तीजनक भएको बताउँदै नेता दाहालले कुनै बेला संसारभरि शासन गरेको बेलायतले के आफ्नो देशको संसदमा बिगतको त्यो भूमि समेटेको नक्सा जारी गरेको छ ? भनी प्रश्न पनि गर्नु भयो।
लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले आफ्नो नक्सा जारी गरि सकेको अवस्थामा समेत आफ्नो भूमिबारे नबोल्ने, भारतले नेपालको ठूलो भूभाग समेटर नक्सा बनाउँदा नबोल्ने जस्ता कुराले प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको मात्र नभई, शिर निहुरिने ढंगको भएको नेता दाहालले बताउनुभयो।
‘बजेट ऋण लिएर घिउ खाने शैलीको’
एमाले संसदीय दलका नेता दाहालले सरकारले संसदमा पेश गरेको बजेटले नेपालको आर्थिक समस्या समाधानमा कुनै भूमिका खेल्न नसक्ने बताउनु भयो । राष्ट्रिय सभामा बोल्ने क्रममा उहाँले देशको उत्पादन खुम्चिरहेको अवस्थामा ऋणको भार बोकेर आएको बजेट यथार्थको धरातल भन्दा धेरै टाढा रहेको समेत दाबी गर्नु भयो । बजेट यथार्थ परक नभई ऋण लिएर पनि घिउ खानु पर्छ भन्ने चिन्तनबाट ग्रस्त भएको दाहालको भनाई थियो ।
बजेट माथिको छलफल मन्तव्य प्रतियोगीता जस्तो मात्र भएको उल्लेख गर्दै उहाँले भन्नु भयो, ‘प्रतियोगीता भए प्रथम, द्वितिय छुट्याइन्थ्यो होला, त्यो पनि नहुने भएकाले यो त मन्तव्यको होडबाजी जस्तो मात्र भईरहेको छ ।’
सत्तापक्षले बजेटमा उल्लेख गरिएका ‘कमा– फुलिष्टप’ समेत परिवर्तन नुहुने बताउनुले संसदमा छलफल चलाउनुनै व्यर्थ मात्र भएको उहाँले बताउनुभयो । प्रतिपक्षीले जति आलोचना र विरोध गर्यो बजेटलाई उतिनै सफल भएको ठान्ने सत्तापक्षको धारणा दरिद्र चिन्तनको प्रतिक मात्र भएको समेत नेता दाहाले बताउनुभयो ।
Source -https://yobela.com/2023/06/239995/