मेरो संक्षिप्त जीवनी
म देवेन्द्र दाहाल । म २०१६ साल पुष १७ गते ताप्लेजुङमा जन्मिएको हुँ । हाल मेरो स्थायी बसोबास दमक नगरपालिका वडा नं ५ मा छ । अस्थायी रुपमा सूर्यविनयाक नगरपालिका वडा नं ४ भक्तपुरमा बसोबास गरिरहेको छु । म अहिले नेकपा एमालेको पोलिटव्यूरो सदस्य । पार्टीको स्थानीय विकास विभाग(स्थानिय तह)को प्रमुखको जिम्मेवारीमा […]
नेपालमा पञ्चायती निरंकुशताको जगजगी भइरहेको बेला त्यसको विरुद्ध २०३६ सालमा उठेको विद्यार्थी आन्दोलनबाट प्रभवित भएर म कम्यूनिष्ट पार्टीको राजनीतिमा प्रवेश गरेको हुँ । म त्यती बेला १९ वर्षको थिंए । मैले राजनीतिक जीवनको लामो समय झापा जिल्लामा बिताएको छु । पार्टी संगठन सञ्चालन काम गर्ने क्रममा २०४५ साल देखि म तत्कालिन नेकपा मालेको झापा जिल्ला कमिटीमा आवद्ध भएको हुँ । मैले २०४५ देखिका ६ वर्ष अर्थात २०५१ सालसम्म नेकपा माले देखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गरें । २०५१ देखि २०५३सम्म मैले झापा एमालेको उपसचिवको जिम्मेवारी निवार्ह गरें ।
२०५३ साल जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म म एमाले झापाको नेतृत्वमा बसेर काम गरें । करिब १३ वर्ष अर्थात चार कार्यकाल मैले झापा एमालेको नेतृत्व गर्ने मौका पाँए । मेरो कमाण्डमा झापामा २०५४,२०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचन भएको हो ।
राजनीतिक परिवर्तनका लागि मैले २०५१ साल देखि शिक्षकको जागिर राजिनामा गरेर राजनीतिको पूर्णकालिन भएर हिडेको हुँ । मैले विज्ञान शिक्षकका रुपमा १३ वर्ष पढांए । त्यसपछि जनताको मुक्तिका लागि भन्दै राजिनामा गरेर राजनीतिमा होमिए । म कुनै बेलाको शिक्षक भएकोले अहिले पनि झापा पार्टीको धेरै नेताहरुले मलाई देवेन्द्र कमरेड भन्दा पनि देवेन्द्र सर भनेर बोलाउछन् । राजनीतिक परिवर्तनमा मैले खास समयमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छु । २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मुल समितीको जिम्मेवारी र २०६२÷०६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी मेरो काँधमा थियो । जुन आन्दोलन सफल भयो र निरंकुस राजतन्त्रको अन्त्य भयो । तर तत्कालिन शाशन सत्ताको चरम दमनका कारण त्यस जनआन्दोलनमा झापामा दुईजना योद्धालाई गुमायौं । यसमा म दुखी छु ।
देश संघीय संरचनामा गएपछि बनेको प्रदेश कमिटी अन्तरगत २०७३ सालमा म नेकपा एमाले प्रदेश नं १ कमिटीको सदस्यको जिम्मेवारी निर्वाह गरें । २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी निवार्हको अवसर पाँए । २०७८ मंसिरमा चितवनमा भएको नेकपा एमालेका दशौं महाधिवेशनबाट म पार्टीको पोलिटव्यूरो सदस्य निर्वाचित भंएर हाल सम्म पनि कार्यरत छु ।
राजनीतिलाई अगाडी बढाउने क्रममा मैले समय र परिस्थितीले दिएका केही राजकीय जिम्मेवारीहरु पनि पुरा गरेको छु । २०७२ सालमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मैले उहाँको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गर्ने अवसर पाँए । त्यसैगरी २०७६ मा भएको राष्ट्रियसभाको निर्वाचनमा निर्वाचित भएपछि मैले संसद मार्फत आम जनताका समस्यामा सरकारको ध्यानआकर्षण गर्ने र जनताका पक्षमा नीति र ऐन कानुन बनाउन लागि परेको छु । राष्ट्रियसभा सदस्यबाट मैले दलको प्रमुख सचेतक हुँदै अहिले दलको नेताको भूमिका निर्वाह गरिरहेको छु ।
२०४२ सालको शिक्षक आन्दोलन हुँदा मलाई प्रहरीले हिरासतमा राखेको थियो । २०४६ सालको जनआन्दोलनमा पनि मलाइ हिरासतमा लिएर जनआन्दोलनको सफलतापछि रिहा गरेको हो ।
मैले चीन,भारत,अमेरिका,यू.ए.ई जस्ता देशको भ्रमण गरेको छु ।
राजनीति एउटा समाज परिवर्तनको महाअभियान हो भन्ने लाग्छ मलाई । यसका लागि लामो धैर्यताको आवश्यकता पर्दछ । राजनीतिलाई स्वार्थका लागि प्रयोग गर्नु हुदैन,यसलाई त राष्ट्रियता,जनजिविका र समाज सुधारको माध्यम बनाउनु पर्दछ भन्ने मेरो मान्यता छ । राजनितिका नाममा अनियमितता र समाजसेवाका नाममा ठगी भनेको जनताप्रति धोका हो भन्ने मेरो मान्यता रहेको छ र म त्यहि भएर जनतालाई धोका होईन जनताको लागी सेवा भावले काम गर्नु पर्छ भन्ने मान्यतामा अडिग रहेर काम गरिरहेको छु । धन्यवाद ।